काठमाडौं : साफ यू-१८ महिला च्याम्पियनसिपको सेमिफाइनलमा भारतलाई पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको छ। भुटानमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा पराजित गरेको हो।
नेपालको जितका लागि नेपाली गोलकिपर अन्जना रानामगरले उत्कृष्ट प्रदर्शन गरिन्। उनको उत्कृष्ट प्रदर्शनमा पेनाल्टी सुटआउटमा भारत नेपालसँग ३-२ गोल अन्तरले पराजित भएको हो।
निर्धारित समय र थप भएको ३० मिनेटमा खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टी सुटआउमा भएको थियो।
नेपालको जितमा गोलरक्षक रानामगरले उत्कृष्ट बचाउ गरिन्। उनले भारतका दुई खेलाडीको प्रहार बचाएकी थिइन् भने भारतीय खेलाडीको एउटा प्रहार पोस्टमाथिबाट बाहिरिएको थियो। नेपालको एक प्रहार बाहिरिए पनि रेखा पौडेल र गोलरक्षक अञ्जनाले गोल गरे।
यसअघि खेलको सुरुआतमा लिएको अग्रता जोगाउन नसक्दा नेपालले निर्धारित समयसम्म भारतसँग १–१ गोलको बराबरी खेल्नु परेको थियो। खेलको १५ औं मिनेटमा नेपालकी रश्मीकुमारी घिसिङले भारतीय गोलरक्षकको गल्तीको फाइदा उठाउँदै गोल गरेकी थिएन्। पहिलो गोल गरेपछि आक्रामक बनेको नेपालले पहिलो हाफमा भारतलाई निकै दबाबमा राखेको थियो।
दोस्रो हाफमा भारत आक्रामक बने पनि नेपालकी गोलरक्षकले उत्कृष्ट बचाउ गरिन्। खेलको ६२ औं मिनेटमा भारतकी टुडु जाबामनिले फ्रि किकमार्फत बराबरी गोल फर्काएकी थिइन्।
समूह चरणको पहिलो खेलमा नेपालले पाकिस्तानलाई १२-० ले पराजित गरेको थियो भने बंगलादेशसँग २-१ ले पराजित भएको थियो। समूह चरण अन्तर्गत एक खेलमा जित र अर्को खेलमा हार ब्यहोर्दै नेपाल सेमिफाइनल पुगेको थियो। नेपालले भुटान र बंगलादेशबीचको विजेतासँग अाइतबार उपाधिकालाई प्रतिस्पर्धा गर्नेछ।
Source: Annapurna Post
No comments:
Post a Comment