Tuesday, October 9, 2018

भुटानमाथि नेपालको सहज जित

टी-२० विश्वकपको एसिया छनोट ‘बी’मा नेपालले भुटानमाथि सहज जित हात पारेको छ ।
प्रतियोगितामा लगातार चौथो जित हात पार्ने क्रममा नेपालले भुटानलाई ११७ रनको फराकिलो अन्तरले हराएको हो । १५१ रनको लक्ष्य पछ्याएको भुटानले १६.४ ओभरमा सबै विकेट गुमाएर मात्र ३३ रन बनाउन सक्यो 
भुटानलाई सस्तैमा समेट्ने क्रममा सन्दिप लामिछाने, ललितनारायण राजवंशीले समान ३-३ विकेट लिए । बसन्त रेग्मीले २ तथा दिपेन्द्रसिंह ऐरी र शरद भेषावकरले एक-एक विकट लिए ।
यसअघि मलेसियाको युकेएम क्रिकेट ओभलमा पहिले ब्याटिङ गरेको नेपालले ओपनर प्रदिप ऐरीको शानदार उत्कृष्ट पारीसँगै २० ओभरमा ४ विकेटको क्षतिमा १५० रन बनाएको थियो ।
नेपालले पहिलो विकेट भने सस्तैमा गुमाएको थियो । ओपनर विनोद भण्डारी पहिलो बलमै आउट भए, जतिबेला टिमको स्कार मात्र ६ रन थियो । तर, अनिलकुमार साहले प्रदिपसँग मिलेर पारी सम्हाले ।
दोस्रो विकेटका लागि ६६ रनको साझेदारी गरेका अनिल २७ रनमा आउट भए । आरिफ शेखले १३ रन जोडे ।
ऐरी ७५ र करण केसी ११ रनमा अविजित रहे । ६८ बलको सामना गरेको प्रदीपले ६ चौका र २ छक्का प्रहार गर्दै ७५ रन बनाए ।

सवा ३ करोड एन्ड्रोइड मोबाइलमा गुगल क्रोम नचल्ने

आफ्नो एन्ड्रोइड स्मार्टफोनमा गुगल क्रोम ब्राउजर प्रयोग गरिरहनु भएको छ होला । तर अब केही एन्ड्रोइड फोन प्रयोगकर्ताका लागि दुखद खबर छ । किनकी अब केही एन्ड्रोइड फोनमा गुगल क्रोम चल्नेछैन ।
यद्यपि यो समाचारबाट सबै एन्ड्रोइड प्रयोगकर्ता तर्सिनु पर्दैन । किनकी गुगल एन्ड्रोइडको जेली बिन ४.१ देखि ४.३ भर्सन सम्मका स्मार्टफोनमा मात्र क्रोम चल्नेछैन । समाचार अनुसार अहिलेपनि विश्वमा एन्ड्रोइड जेली बिन ४.१ प्रयोग गर्नेको संख्या ३ करोड २० लाख रहेको छ ।
यद्यपि गुगलले कुन मितिदेखि यसलाई कार्यान्वयन गर्ने भन्ने खुलाएको छैन ।
यदि तपाइँसँग एन्ड्रोइड ४.१ अपरेटिङ सिस्टमवाला फोन छ र क्रोमले काम गर्न छाड्यो भने इन्टरनेट चलाउन कुन ब्राउजर प्रयोग गर्ने भन्ने सोँचमा हुनुहुन्छ भने चिन्ता गर्नुपर्ने कारण छैन । किनकी यूसी ब्राउजर, ओपेरा मिनी तथा फायरफक्स जस्ता ब्राउजर मज्जाले चल्नेछन् ।
स्मरणीय छ, गुगलले सन् २०१२ को जुलाई १० मा एन्ड्रोइड जेली बिन लञ्च गरेको थियो । गत केही महिना अघि गुगलले आफ्नो सबैभन्दा पछिल्लो अपरेटिंग सिस्टम एन्ड्रोइड पाई नाइन सार्वज्निक गरेको छ ।
गुगलले आफ्नो अपरेटिंग सिस्टममा लगातार विभिन्न परिवर्तन गर्दै आएको छ । केही दिनअघि मात्र गुगलले एन्ड्रोइड फोनको युट्युब एपका लागि डार्क मोड जारी गरेको छ ।

Monday, October 8, 2018

मोबाइल फोन र सोसल मिडिया प्रयोगमा भारतलाई जित्यो नेपालले !

१८ असोज, काठमाडौं । मोबाइल र सामाजिक सन्जालको प्रयोगमा नेपालीले भारतीयलाई जितेका छन् । प्रतिशतका आधारमा हेर्दा पछिल्लो सर्वेक्षणले भारतीय भन्दा नेपाली जनता प्रबिधिको प्रयोगमा अगाडि देखिएका छन् ।
बिहीबार ललितपुरमा सार्वजनिक गरिएका १८ देशका करिब ४० हजार सर्वसाधारणमा गरिएको सर्वेक्षणले नेपालको कुल जनसंख्याको दुई तिहाई जनता मोइबाइल र इन्टरनेट सेवा प्रयोगकर्ता रहेको देखाएको छ ।
आईडीआरसी, सीआरडीआईलगायतका संस्थाले गरेको सर्वेक्षणमा ७२ प्रतिशत नेपालीसँग मोबाइल फोन रहेको पाइएको छ । जबकी डेक्सटप कम्प्युटर र ल्यापटप प्रयोगकर्ता भने ५ प्रतिशतमात्र छन् ।
सर्वेक्षण गरिएकामध्ये सबैभन्दा बढी मोबाइल प्रयोगकर्ता अर्जेन्टिनामा ९२ प्रतिशत रहेका छन् । जबकी नेपालको छिमेकी विशाल मुलुक भारतमा ६१ प्रतिशत जनतासँगमात्र मोबाइल छ । यो नेपालभन्दा ११ प्रतिशतले कम हो ।
नेपालमा मोबाइल प्रयोगकर्ता शहरकामात्र होइन गाउँका जनता पनि लगभग उत्तिकै छन् । सर्वेक्षणका अनुसार शहरी क्षेत्रमा ७६ प्रतिशतसँग मोबाइल छ भने गाउँमा ६५ प्रतिशतको हातमा मोबाइल छ ।
नेपालमा ८० प्रतिशत पुरुष र ६५ प्रतिशत महिलाले मोबाइल प्रयोग गरिरहेको सर्वेक्षणले देखाएको छ । भारतमा भने ४३ प्रतिशत महिलाले मात्र मोबाइल प्रयोग गरिरहेका छन् ।
अझ रोचक तथ्यांक चाहिँ के छ भने, नेपालमा सून्य आय भएका ६५ प्रतिशतसँग मोबाइल फोन छ । यसको कारण भनेको परिवारका सदस्य वैदेशिक रोजगारी र शहरी क्षेत्रमा हुनु र उनीहरुले घरमा कुरा गर्नका लागि मोबाइल उपलव्ध गराउनु रहेको हुनसक्ने विज्ञहरुको तर्क छ ।
मोबाइल प्रयोगकर्ता नेपालीमध्ये ५२ प्रतिशतसँग स्मार्टफोन छ भने ४० प्रतिशतसँग कुरामात्र गर्न मिल्ने आधारभूत फोन छ । जबकी स्मार्ट फोन उत्पादन हुने भारतमा भने २८ प्रतिशतसँगमात्र स्मार्टफोन रहेको सर्वेक्षणमा देखिएको छ ।
स्मार्टफोन प्रयोगकर्तामध्ये ४७ प्रतिशत ग्रामिण भेगका छन् । तीमध्ये करीव ६५ प्रतिशत इन्टरनेटको पहुँचमा छन् । ६० प्रतिशत नेपालीको पहुँच सामाजिक सन्जालमा रहेको छ । तीमध्ये ५८ प्रतिशतले सामाजिक सञ्जालमार्फत समाचार पढ्ने र हेर्ने गर्छन् ।
नेपालमा ७७ जिल्लाका २ हजार परिवारमा पुगेर अन्तर्राष्ट्रिय विधिअनुसार सर्वेक्षण गरिएको सेन्टर फर ल एण्ड टेक्नोलोजीका अध्यक्ष बाबुराम अर्यालले जानकारी दिए । यसक्रममा १५ देखि ६५ वर्ष उमेर समूहका ३८ हजार व्यक्तिसँग कुराकानी गरिएको थियो ।
Source : Online khabar

Sunday, October 7, 2018

सिके राउत रौतहटबाट पक्राउ

स्वतन्त्र मधेसको माग गर्दै आएका सिके राउत रौतहटको गौरबाट आइतबार पक्राउ परेका छन्।रौतहटमा प्रहरीले राउतलाई दिउँसो जिल्ला अदालतबाट फर्कदै गर्दा पक्राउ गरेको हो।
राउत दिउँसो  आफ्ना समर्थकका साथ एकसय भन्दा बढी मोटरसाइकल र्याली लिएर अदालतमा पुगेका थिए।
उनी पुरानो मुद्दाको शिलशिलामा रौतहट  जिल्ला अदालतमा हाजिर हुन पुगेका हुन्।  यसअघि पनि सिके राउत विभिन्न जिल्लामा पटकपटक पक्राउ पर्दै छुट्दै आएका थिए।
रौतहटमा प्रहरी प्रमुख एसपी केदार ढकालले राउतलाई पक्राउ गरी हिरासतमा राखेको जानकारी दिए।एसपी ढकालले भने, ‘डा. सिके राउतलाई राज्यविरुद्धको कसुर अन्र्त
गत पक्राउ गरी अनुसन्धान सुरु गरेका छौँ।’
प्रहरीले राज्यविरुद्धको कसुर अन्र्तगत दफा ४९ को उपदफा ४ बमोजिम पक्राउ गरेको जनाएको छ। उक्त दफामा सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय एकता उपर खलल गर्न नहुने उल्लेख छ।
सिके राउतलाई पक्राउ गरेको विरोधमा जिल्ला प्रहरी कार्यालय अगाडि पुगेका उनका समर्थकलाई प्रहरीले लाठीचार्ज गरी तितरबितर पारेको छ।

थाइल्याण्डमाथि नेपालको शानदार जित : सन्दीपले लिए पाँच विकेट

काठमाडौं : सन् २०२० मा अस्ट्रेलियामा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) टीट्वेन्टी विश्वकपअन्तर्गत पहिलो चरणको एसियाली छनोट प्रतियोगिता अन्तर्गत थाइल्याण्डविरुद्धको खेलमा नेपालले शानदार जित दर्ता गरेको छ । 
आइतबार मलेसियामा भएको आफ्नो तेस्रो खेलमा नेपालले थाइल्याण्डमाथि १४० रनको जित दर्ता गरेको हो । पहिलो ब्याटिङ गरेको नेपालले थाइल्याण्डलाई १७३ रनको चुनौती दिएको थियो । 
लक्ष्य पछ्याउने क्रममा आठ ओभर खेल्दा थाइल्याण्डको इनिङ धरापमा परेको थियो। नेपालको जितका लागि सन्दीप लामिछाने एक्लैले पाँच विकेट, करण केसी तीन र ललित राजभण्डारीले एक विकेट लिए । 
१७३ रनको लक्ष्य पछ्याएको थाइलाण्डले ८.५ ओभर खेल्दा ९ विकेटको क्षतिमा १८ रनमात्र जोड्न सक्यो । पानी परेपछि रोकिएको खेलको निर्णय डीएल पद्धतिबाट भएको हो ।
नेपालको जितका लागि अघिल्ला दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीपले थाइल्याण्डविरुद्ध समेत उत्कृष्ट प्रदर्शन गरेका हुन्। 
शनिबार आयोजक मलेसियाविरुद्धको खेलमा सन्दीपले पाँच विकेट लिँदा नेपालले मलेसियालाई आठ विकेटले पराजित गरेको थियो। पहिलो खेलमा बुधबार सन्दीपले म्यानमारको चार विकेट लिएका थिए। सन्दीपले चार विकेट लिँदा आफ्नो पहिलो खेलमा नेपालले म्यानमारलाई आठ विकेटले नै पराजित गरेको थियो।
मलेसियाको वायुमास ओभल मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रेको नेपालले करण केसीको उत्कृष्ट प्रदर्शनको सहयोगमा पुरै ओभर खेल्दै ७ विकेटको क्षतिमा १७२ रन बनाएको हो । 
आठौँ क्रममा आएका करण केसीले १४ बलमा शानदार ४० रन बनाएका हुन् । उनले त्यसक्रममा लगतार तीन छक्का प्रहार गरे । नटआउट रहेक उनले ४ छक्का र २ चौका पनि हाने ।
त्यसैगरी नेपालका लागि शरद भेषावकरले २८ बलमा ३४ रनको योगदान दिए । दिपेन्द्रसिंह ऐरीले ३० रन बनाए भने ओपनर अनिल साहले २५ रनको पारी खेले ।
थाइल्यान्डका लागि पायुपुथ सुङ्गार्दले सर्वधिक ४ विकेट लिए । उसका लागि भिचनाथ सिंहले पनि दुई विकेट लिए ।  

Saturday, October 6, 2018

कक्षा ११ को परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं, २० असोज / राष्ट्रिय परीक्षा बोर्डले (NEB class 11 result) कक्षा ११ को वार्षिक परीक्षाको नतिजा शनिबार सार्वजनिक
गरेको छ । नियमिततर्फ  १ हजार एक सय १५ जना विद्यार्थीले जीपीए ३.६५ देखि ४ सम्म ल्याएका छन् । आठ हजार नौ सय
४९ ले जीपीए ३ देखि ३.६० ल्याए, जीपीए २.८१ देखिजीपीए ३.२० ल्याउने २४ हजार पाँच सय १५ विद्यार्थी छन् ।
त्यसैगरी २.४१ देखि २.८० ल्याउने ४८ हजार सात सय ३१,जीपीए २.१ देखि २.४० ल्याउने ८६ हजार सात सय ७०, जीपीए १.६१ देखि २
ल्याउने ९२ हजार पाँच सय ९३ रहेका छन् । जीपीए १.२१ देखि १.६० ल्याउने ४१ हजार चार सय ६, जीपीए ०.८१ देखि १.२० ल्याउने आठ
हजार एक सय २७ र जीपीए ० देखि ०.८० ल्याउने २० हजार ६ सय ८५ रहेको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।
अंकाङ्कन पद्धतिमा परीक्षा दिएका आंशिक विद्यार्थीमध्ये ३८.४१ प्रतिशत उत्तीर्ण भएका छन् ।
परीक्षाको नतिजा http://neb.ntc.net.np/ मा हेर्न सकिने छ ।
www.moe.gov.np
www.soce.gov.np

आज प्यालेस्टाइनविरुद्ध खेल्दै, दबाबमा नेपाल

काठमाडौं  : बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार समूहगत चरणको आफ्नो अन्तिम खेलमा प्यालेस्टाइनविरुद्ध मैदानमा उत्रँदा नेपालले मुस्किल चुनौतीको महसुस गर्नेछ । किनभने प्यालेस्टाइनविरुद्धको यही खेलसँग प्रतियोगितामा नेपालको भविष्य जोडिएको छ । साबिक विजेता नेपाललाई सेमिफाइनल यात्रा तय गर्न कुनै पनि अवस्थामा प्यालेस्टाइनलाई पराजित गर्नुपर्ने बाध्यता छ । बराबरी वा पराजयको नतिजाले प्रतियोगितामा नेपालको यात्रा समूहगत चरणमै रोकिने निश्चित छ ।
यद्यपि शनिबारको खेल अघि प्यालेस्टाइन आफूविरुद्धको विगत र जारी प्रतियोगिताको प्रदर्शनका आधारमा नेपालका लागि निक्कै कठिन प्रतिद्वन्द्वी देखिएको छ ।
समूह एमा प्यालेस्टाइनसँगै ताजकिस्तानले तीन÷तीन अंक बटुलिसकेका छन् । आफ्नो पहिलो खेलमा ताजकिस्तानसँग २–० गोलले पराजित भएको नेपाल समूहमा अंकविहीन छ । बिहीबार भएको खेलमा उही ताजकिस्तानलाई २–० गोलले पराजित गर्दै प्यालेस्टाइनले महŒवपूर्ण तीन अंक जोडेको हो । त्यसैले पनि शनिबार निर्णायक खेलमा बलियो प्यालेस्टाइनलाई पराजित गर्दै प्रतियोगितामा उपाधि रक्षा गर्ने अभियानलाई जीवित राख्न नेपाललाई निकै मेहनत गर्नुपर्ने देखिएको छ ।
सन् २०१६ मा उपाधि जित्दा पाउनुपर्ने पुरस्कार रकममध्ये २५ हजार डलर बंगलादेश फुटबल संघले दिन ढिला गरेपछि निक्कै छोटो तयारीमा प्रतियोगिता खेल्न गएको नेपाल ताजकिस्तानसँगको खेलमा नै कमजोर देखिएको थियो । त्यसका साथै जारी प्रतियोगितामा प्यालेस्टाइनले सशक्त प्रदर्शन गरिरहेको छ भने विगतको नतिजाले समेत नेपाललाई कमजोर प्रतिद्वन्द्वीको रूपमा प्रस्तुत गरेको छ ।
नेपालले यसअघि एसियाली फुटबल महासंघ (एएफसी) च्यालेन्ज कपअन्तर्गतका खेलहरूमा प्यालेस्टाइनसँग तीन पटक काठमाडौंमै प्रतिस्पर्धा गरेको छ । यद्यपि यी तीनै खेलमा नेपाल प्यालेस्टाइनसँग जित निकाल्न असफल रहँदै आएको छ । नेपालले सन् २००९ र सन् २०१४ मा एएफसी च्यालेन्च कपको छनोट प्रतियोगितामा प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्दा दुवै पटक गोलरहित बराबरीको नतिजा निकालेको थियो । यद्यपि सन् २०१२ मा च्यालेन्ज कपको अन्तिम चरणको प्रतियोगितामै प्रतिस्पर्धा गर्दा भने नेपाल प्यालेस्टाइनसँग २–० गोलले पराजित भएको थियो ।
आफ्नो खराब इतिहासलाई मेटाउन मात्रै हैन, प्रतियोगितामा उपाधि रक्षाको अभियानलाई जारी राख्न पनि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को वरीयतामा आफूभन्दा ४० स्थान माथि रहेको प्यालेस्टाइन (१००) विरुद्ध नेपाललाई सशक्त प्रदर्शन गर्न आवश्यक देखिएको छ ।
Source : Annapurna Post